काठमाडौं । विश्वका ठूला अर्थव्यवस्था भएका देशहरुको समूह ‘जी-ट्वेन्टी’ को दुईदिने शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ ।चिनियाँ राष्ट्रपति सी चिनफिंङबाहेक २० सदस्य राष्ट्रका राष्ट्र प्रमुख र अतिरिक्त नौ राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरु सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगिसकेका छन् ।

शुक्रबार साँझ नयाँ दिल्ली पुगे लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए । भेट पश्चात संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिका र भारतबीचको सम्बन्ध अझै गाढा बनाउने प्रतिबद्धता दुवैले व्यक्त गरेका छन्।
विज्ञहरुकाअनुसार अमेरिकाले भारतलाई चीनविरुद्धको ‘काउन्टरवेट’ को रुपमा स्थापना गर्न चाहन्छ भने भारतको पहल पश्चिममा आफ्नो पकड अझ बलियो बनाउने छ ।जी ट्वान्टी सम्मेलनमा अमेरिकी राष्ट्रपतिले विकासोन्मुख र मध्य आय भएका देशहरुलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप दुई सय अर्ब डलर उधारो लिन सक्ने प्रस्ताव गर्ने भनिएको छ ।
शिखर सम्मेलनमा जलवायु परिवर्तनको असर नियन्त्रण, विश्व अर्थतन्त्र, खाद्य तथा इन्धनको बढ्दो मूल्य, कर्जा संकट, गरिबी निवारण, विकास लगायतका मुद्दामा छलफल हुनेछ ।रुस-युक्रेन युद्धलाई लिएर जी-ट्वान्टीका सदस्य राष्ट्रहरुबीच मतभेद देखिएकाले शिखर सम्मेलनले साझा घोषणापत्र जारी गर्ने सम्भावना भने न्यून छ ।
हाल जी-ट्वान्टीमा अमेरिका, बेलायत, भारत, रुस, चीन लगायतका १९ राष्ट्र र यूरोपेली संघ गरी २० सदस्य छन् । विश्वका शक्तिशाली नेताहरुको जमघट हुने भएकाले भारतमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !