काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रवार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले विदेशी लगानी भित्र्याउन उक्त सम्मेलन गरिने बताएका हुन् ।

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको जानकारी दिए । साथै नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको भन्दै त्यसले मुलुकको आर्थिक गतिविधिमा बढावा दिने विश्वास समेत उनले व्यक्त गरे ।
‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन्,’ उनले भने, ‘यसको मतलव यो होइन कि हामी समस्यारहित भईसक्यौं भन्ने होइन । समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब शुरु हुन्छ ।
र, त्यसका संकेतहरु देखिएका छन् । हाम्रो विदेशी मुद्राको संचिति राम्रो छ । पर्यटक आगमन वृद्धि भइराखेको छ । त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाईड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । र, इन्डियासँग जुन सम्झौता भएको छ । १० हजार मेघावाटसम्म विद्युत खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरुलाई एउटा सुनिश्चित मार्केट प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
मन्त्री महतले नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिने समेत बताए । उनले भारतमा १० हजार मेघावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने दाबी गरे ।
‘अहिले हाम्रो छिमेकी देशहरुमा आर्थिक उन्नति, प्रगति भईराखेको छ । त्यसले एउटा धेरै ठूलो सम्भावना टुरिजममा छ,’ उनले भने, ‘तेस्रो सम्भावना हाम्रो यो एग्री सेक्टरमा पनि ठूलो सम्भावना छ । जुन हाम्रो टोपोग्राफी छ । भेराइट क्लाईमेट छ । त्यसले एउटा सहज वातावरण दिन्छ नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो वृहत सम्भावनाको क्षेत्र छ ।
त्यसमा मेजर इन्भेष्टरहरुलाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । र, हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसको लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि शुरु गर्र्छौ । बजेटमा पनि हामीले बोलेका छौं ।’
अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वास समेत व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !