बाँसगढी । बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलमाथि सोमबार दुव्र्यवहार भएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट जारी सार्वजनिक विज्ञप्ति अनुसार, सोमबार दुई बजेको समयमा नियोजित र पुर्वतयारीका साथ आएको समुहले कार्यालय प्रमुखमाथी हुलहुज्जत र दुव्र्यवहार गरेको थियो ।

‘कार्यालयका कर्मचारी उद्यम विकास सहजकर्ता कृष्णा पाण्डे समेत मिलेर निराधार आरोप लगाई हुलहुज्जत गर्ने कार्य भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ । उक्त कार्य प्रचलित कानून बमोजिम दण्डनीय र खेदजन्य रहेको स्पष्ट पार्दै सम्पूर्ण कर्मचारीहरुले घोर भत्र्सना गरेका छन् । साथै कार्यालय प्रमुखबाट कुनै कमी कमजोरी भए प्रचलित कानून बमोजिम उपचारमा जाने उपाय हुदाहुदै निराधार आरोप लगाई हुलहुज्जत गर्नु नेपालको संविधान र प्रचलित कानूनको ठाडो उल्लंघन भएको बताएका छन् ।
विज्ञप्तिमा सेवा प्रवाहका लागि कार्यालयमा शान्ति सुरक्षाको उपयुक्त व्यवस्था नदेखिएको हुदा निराधार आरोप लगाउने कार्यालयका कर्मचारी र उल्लेखित कार्यमा संलग्न पक्ष उपर कारबाही गर्न माग गरिएको छ । शान्ति सुरक्षाको व्यवस्था नहुदाँसम्म सम्पूर्ण कर्मचारीले अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह रोक्दै अनिश्चितकालीन कलम बन्दको घोषणा गरेका छन् ।
नगरपालिका प्रमुख खड्क बहादुर खड्काले विज्ञप्ति प्रकाशित गरी पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागी समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गरेका छन् । नगर प्रमुख खड्काले यस्तो घटना हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कही कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न अपिल गरेका छन् ।
यता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राज्यको रकम हिनामिना गरेको कुरा जनगुनासो आएको दाबी गर्दै अख्तियारमा बुझाउने सर्तमा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई प्रहरीमा बुझाएको दाबी गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढी स्रोतले भने पौडेल आफुहरुको नियन्त्रणमा नरहेको बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !