काठमाडौं । सुन तस्करीमा प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए ।
चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
राजस्व स्रोतका अनुसार सुन पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !