काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट काँग्रेस ठूलो दल भएकाले काँग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताउनु भयो । उहाँले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरु खोज्ने जिम्मा पनि काँग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताउनु भयो ।
कार्यवाहक अध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको पनि बताउनु भयो । उहाँले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताउनु भयो ।
उहाँले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !