काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको तारिख आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

उनी सोमबार साँझ दक्षिण अफ्रिका जाने छन् । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउन लागिएको हो । दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन्।
तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए। उच्च अदालत पाटनले गत पुस २९ गते जेलबाट रिहा गर्ने गरी दिएको आदेशमा सन्दीपलाई विदेश जान रोक लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको उक्त आदेशलाई बदर गर्दै विदेश जाने बाटो खोलिदिएको थियो ।
तर, सन्दीपले हरेक २१ दिनमा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यात्यमक प्रावधानले उनी मंगलबार त्यता जान पाएनन् । यसबीचमा यो मुद्दालाई लिएर सन्दीपका वकिलहरुले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए ।

















