काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुले अवरुद्ध गरेपछि एक घण्टाको लागि स्थगित भएको हो ।

सांसदहरूले बैठक सुरु हुनुअघिदेखि अवरोध गरिरहेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्याएको भन्दै सांसदरुले विरोध जनाएका हुन् ।
बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल चल्न नदिने बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता पाउनु नेपालीको अधिकार भए पनि जुन प्रक्रियाबाट प्रमाणीकरण गरिएको छ त्यसको विरोध गर्ने बताएका थिए ।
