काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् ।बिहीवार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले काँग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताउका हुन् ।

उनले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताए । उनले काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गरे ।
उनले भने, ‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीनवटा कुराबाट ऊ आजित छ । पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ । पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ ।
नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा काँग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँ । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस् । हिजो को दाईसँग को लाग्यो सब बिर्सौं अब ।
हिजो एउटा अवस्था थियो । अब काँग्रेसभित्र काँग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाईहरु रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट । जो दाईसँग लाग्छ दाईसँगै जाने । जो आउँछ त्यो सँगसँगै जाने । गर्दै जाने, काम गर्दै जाने । यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो । पार्टी बचाउने हो ।’
महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए । उनले काँग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताउनुभयो । उहाँले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !