चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरु प्रदीप रुङ्गटा र जीवन रावललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।रावल प्रहरी हिरासतमा छन् भने रुङ्गटा फरार छन् ।
मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै भाइ राजन कँडेलले आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका थिए ।भरतपुर महानगरपालिका वडा नं. ३, बेलचोकस्थित आफ्नै कार्यालयमा वैशाख २० गते मंगलबार साँझ कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।
१९ वैशाखमा कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिमा आर्थिक संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले मानसिक दबाव दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !