काठमाडौं । प्रहरी अधिकृतका श्रीमतीहरूकाे छाता संगठन नेपाल प्रहरी श्रीमती संघकाे आयाेजनामा निःशुल्क ‘उद्यमशिलता विकास तालिम’ सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको सहकार्यमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वरले ८ दिने उद्यमशिलता विकास तालिम सञ्चालन गरेको बताइएकाे छ ।
संघको कार्यालय भृकुटिमण्डपमा सञ्चालन गरिएको तालिममा उद्यमशिलताको उपयोगितालाई प्रष्ट पारिएको संघकी अध्यक्ष लक्ष्मी कुँवरले जानकारी दिइन् । ‘उद्यमशील भएर व्यापार कसरी गर्ने ? त्यसको लागि प्रक्रिया कसरी अगाडि बढाउने ? बैंकमार्फत कर्जा कसरी लिने ? लगायतको विषयमा तालिम दिइएकाे थियो ।’
कुनै व्यक्ति उद्योग व्यवसायको प्रवर्द्धन गर्न वा उद्योग व्यवसायको क्षेत्रमा तालिम तथा परामर्श सेवा प्रदान गरी उद्यमीहरू विकास गर्न चाहन्छ भने उसले उद्यमशीलता विकास प्रशिक्षण तालिम लिनुपर्ने अध्यक्ष कुँवरको दाबी छ । कार्यक्रममा उनले उद्यमशीलताको उपयोगितालाई छर्लङ्ग पार्दै आउँदा दिनमा अझैं यस्ता कार्यक्रम सञ्चालन गर्दै आउने प्रतिबद्धता समेत जनाएकी थिइन् ।
समापन समाराेहमा बाेल्दै अध्यक्ष कुँवरले यस्ता सीपमुलक र फाइदामुलक कार्यक्रमहरु भइरहने हुँदा थप बुझ्न आवश्यक भए संघमा सम्पर्क राख्न समेत अनुरोध गरेकी थिइन् ।
उनले नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताइन् । ‘नेपाल प्रहरी श्रीमती संघ विशुद्ध सामाजिक र मुनाफारहित संस्था भएकाले यसले गर्ने भनेको सामाजिक कार्य नै हो,‘ उनले भनिन् । समापन कार्यक्रममा प्रशिक्षार्थीलाइ प्रमाणपत्र समेत दिइएकाे थियाे । स्मरण रहाेस् संघले यस अघि पनि स्वास्थ्य शिविर लगायत विविध सामाजिक कार्य गरेर प्रशंसनीय कार्य गर्दै आएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !