काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र सिंहदरबार धाइरहेका छन् ।अदालतले पक्राउ पुर्जी जारी गरेसँगै टोपबहादुर हाल फरार रहँदा अध्यक्ष ओली भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक भेटघाट भन्दै घरि बालुवाटार त घरि सिंहदरबार वार्तामा पुगिरहेका छन् ।

टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै गएको बिहीबार पनि बालुवाटार पुगेको ओलीले शनिबार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरे । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तालाई बाहिर टोपबहादुर बचाउन ओली सक्रिय रुपमा लागिपरेको भन्ने छ । तर, त्यस विषयमा ओलीले पत्रकारको मुखमा बुझो हाल्ने गरेका छन् ।
टोपबहादुर भेट्न सक्रिय रुपमा लागेको भन्ने भनाइमा ओली टोपबहादुरसँग आफ्नो सम्पर्क नभएको भन्दै सके खोजेर ल्याउन उल्टो प्रश्न गरेका छन् । पत्रकारलाई अपराधी खोज्न लगाउने अध्यक्ष ओली खास प्रधानमन्त्रीसँग पछिल्लो समय के विषयमा भेटवार्ता गरिरहेका छन् त ? यो प्रश्नको उत्तर उहिँ टोपबहादुरकहाँ जोडिँदै आएको छ । तर, ओली बाहिर त्यो स्वीकार्न तयार छैनन् ।
शनिबार सञ्चारकर्मीले अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् । तपाईंहरूले खोज्नुस् न।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर मुछिएपछि प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । पहिलो भेटमा प्रधानमन्त्रीसँगको भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे सह्य नहुने पत्रकारलाई भनेका थिए ।
नक्कली शरणर्थी प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित अन्य व्यक्तिहरु पक्राउ परिसकेका छन् । तर, एमाले सचिव टोपबहादुर भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनलाई प्रहरीले खोजीरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !