विराटनगर । विराटनगर महानगरपालिकासँगै जोडिएको ग्रामथान गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको पाइएको छ । कोसि प्रदेशको राजधानी विराटनगरसँगै जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर -४ मोतिपुर र वडा नम्बर – ५ को तेतरियामा करिब एक बर्ष देखि दैनिकरूपमा जुवा सञ्चालन हुने र त्यहाँ करोडौँको खेल हुनेगरेको पाइएको हो ।
जुवाका कारण पूरै गाउँ नै प्रभावित बन्दै गएको स्थानीयको गुनासो छ । धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुुँदा समेत स्थानीय प्रहरी मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ ।
जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर एक / दुई किमिको फरकमा हुुँदा समेत प्रहरीले अनदेखा गर्दै हिँडेपछि जुवाले प्रश्रय पाएको स्थानीयको दाबी छ । केही महिना अगाडि उक्त जुवा खालबाट जुवा सञ्चालन गर्ने सञ्चालकदेखि केही खेलाडीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
तर पनि प्रहरीले सेटिङमा कुनै कारबाही नै नगरी उनीहरूलाई छोडेको स्थानीयको भनाइ छ । उक्त घटनापछि जुवा खेलले झनै ब्यापक रूप लिएको स्थानीयको गुनासो छ । महानगरभन्दा करिब १० किमि फरकमा सञ्चालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुुँदा खेलाडीहरूका लागि पनि सुरक्षित स्थान बन्न थालेको छ ।
स्रोतका अनुसार सुनसरी मोरङ सिचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको गा्रमथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा माहादेवकोल सिँचाइ योजनाका अध्यक्ष सुदिप कुुमार माझीले कौडा जुवाको खाल लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।
उक्त कौडा जुवा लामो समयदेखि सञ्चालन हुुँदै आएका कारण विराटनगरका व्यापारी तथा छिमेकी जिल्लाबाट आउने खेलाडीको व्यापक सहभागिता हुने गरेको छ ।
यसरी अवैधरूपमा सञ्चालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको बताउन थालिएको छ ।
इलाका प्रहरी कार्यालय बेलवारी मातहत रहेको मोतीपुर प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको छ भने मोरङ जिल्ला प्रहरी कार्यालयलाई कोसी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ ।
प्रहरी चेनअफ कमान्डमा सञ्चालन हुने भएका कारण सबै घटनाको जानकार हुुँदा पनि प्रहरी मुकदर्शक भएर बसेपछि यो अवैध जुवाले व्यापक जरो गाडेको दाबी स्रोतले गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !