लहान । मुख्यमन्त्री सरोज यादवनिकट स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने तयारी भइरहेको छ । जनमत पार्टीबाट मधेस प्रदेश सरकारमा दुई जना मन्त्री छन् ।वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री छन् ।

‘उप–राष्ट्रपतिको चुनावकै बेला मधेस प्रदेश सरकारबाट जनमतको मन्त्री हटाउने तयारी थियो,’ मुख्यमन्त्री यादवनिकट स्रोतले भन्यो,‘त्यतिबेला गलत सन्देश जान्छ भनेर रोकियौं । अब छिट्टै जनमतका मन्त्री पनि हटाइने छ ।’
चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार रामसहाय प्रसाद यादवको विरुद्धमा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको थियो । बारा–२ को निर्वाचनमा पनि जनमत पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा उम्मेदवारी दिएपछि जनमतका मन्त्रीलाई मधेस प्रदेश सरकारबाट हटाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।
मधेस प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एक जना सांसद छन् ।
एमाले र जनमत मधेस सरकारबाट हटे पनि मुख्यमन्त्री यादवलाई सरकार टिकाइराख्न बहुमत भने पुग्छ । कांग्रेसको २२, जसपाको १६, लोसपाको ९, माओवादीको ९, नेकपा(एस)को ७, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्तिसहित ३ सांसद र स्वतन्त्र सांसद ६ जना छन् । मुख्यमन्त्री यादवसँग एक जना स्वतन्त्र सांसदवाहेक ५ जनाको समर्थन छ । त्यो जोड्दा मुख्यमन्त्री यादवसँग ७१ सांसदको समर्थन पुग्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !