काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान शीतल निवासमा शपथग्रहण गरेका हुन्।
यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आजै पदभार ग्रहण गर्दैछन्।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले सांसद र जसपाबाट राजीनामा दिएका छन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।
यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत प्राप्त गरेकी थिइन्।
यसैबीच पद हस्तान्तरणपश्चात निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाई गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !