काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार बैठकमा सहभागी आठै दललाई सरकारमा सहभागी हुन आव्हान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नयाँ राजनीतिक समिकरण भएसँगै शुक्रबार साँझ यस्तो ब्रिफिङ गरेका हुन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकमा सहभागी आठ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जुटेको थियो ।
आठ दलको उक्त सहमतिसँगै सत्ता समिरण समेत परिवर्तन हुने देखिएको छ किनकि राष्ट्रपति पद नपाएपछि नेकपा एमालेले सत्ताबाट बाहिरिने संकेत गरेको छ । यससँगै प्रधानमन्त्री प्रचण्डले बालुवाटार बैठकमा सहभागी आठै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले बैठकको निर्णयलगत्तै सबै दलका नेताहरुलाई वर्तमान सरकारमा सहभागी हुन अनुरोध गरेका हुन् ।
यसअघि राष्ट्रपति पद एमालेले दावी गर्दै आएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान नछाडेपछि एमालेसँग तिक्तता बढेको थियो ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच दूरी बढ्दै गएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुरानो गठबन्धन ब्युँताउने कसरतमा लागेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !