काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । तर, गठबन्धनमै आबद्ध तीन दलका नेता बैठकमा सहभागी भएनन् ।

गठबन्धनमा सात दल छन् । बैठकमा चार दलका नेता मात्र सहभागी भएका छन् । गठबन्धनमै रहेका जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही पनि नेता बैठकमा सहभागी नभएका हुन् ।
स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन् । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी डिल्लीबजार कारागार पुगेकी छन् । त्यहाँ उनले आफ्ना पति समेत रहेका नेता रेशम चौधरीसित भेटवार्ता गरिरहेको स्रोतले जनाएको छ ।
यस्तै, जनमतका अध्यक्ष सीके राउत अहिले काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका सो पार्टीका एक नेताले जानकारी दिए ।
बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका तीन दलका नेता बैठकमा सहभागी नभएका हुन् । पछिल्लो समयमा सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !