काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पति तथा थारु नेता रेशम चौधरीका लागि न्याय मागेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकमा सोमबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सम्बोधन गर्दै उनले न्यायको आशा गरेको बताए ।
उनले भने– ‘आखिर निर्दोष नागरिकलाई किन जेलमै राखिरहने? निर्दोष थारुहरुलाई किन जेलमै राखिरहने ? आज यही संसद्बाट नै न्याय माग्छु । र, न्याय दिने आशा पनि रहेको छ ।’
श्रेष्ठले जिम्मेवार नेताहरुले रेशम चौधरीलाई निर्दोष भन्ने गरेको स्मरण गरे । शेरबहादुर देउवाले रोस्ट्रमबाट, केपी ओलीले कैलालीबाट, पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेल लगायतका स्थानबाट, गगन थापाले धनगढीको विशाल सभाबाट र रवि लामिछानेले पनि निर्दोष भनेको उनले बताए ।
उनले रेशम चौधरीलगायतलाई ठूला दलका कार्यकर्ता नभएकाले झुटा मुद्दा लगाएर जेलमा राखिएको बताए । चौधरी कांग्रेस, एमाले, माओवादीलगायत ठूला दलको कार्यकर्ता नभएको कारण झुटा मुद्दा लगाइएको उनको भनाइ छ ।
उनले थारु भएकै कारण चौधरीलाई मुद्दा लगाइएको र पाँच वर्षदेखि थुनेर राखेको बताइन्। उनले टिकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको समेत बताए । घटनास्थलमा नदेखिएका व्यक्तिलाई मुद्दा लगाउन नपाइने भएपनि जेलमा राखिएको बतए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !