काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।

सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन उनले सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
सोमबार प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेका थिए । छलफलमा सचिवहरुले आ-आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।
उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए । सो छलफलपछि प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन् ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।
विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन् ।
केही सचिव र विभागका प्रमुखले अझै आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !