काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।
उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।
प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए ।
त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो ।तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि २६ भदौमा उनी छुटेका थिए ।

















