काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ तथा चेक बरामद गरिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, “घटनाबारे थप अनुसन्धान गर्दै छौं । उहाँलाई नियन्त्रणमा लिएका छौँ । थप कुरा अनुसन्धानबाट थाहा होला ।”
अनुसन्धानका क्रममा केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको खुलेको छ ।
सोही सुन फिर्ता दिने सहमतिमा डीएसपी केसीले रकम लिएको खुलेको छ । तर, सुन फिर्ता गर्न नपाउँदै सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

















