काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । माओवादी केन्द्रकाे पदाधिकारी बैठक बसिरहेका बेला कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।

१ सय ६९ सांसदकाे समर्थनसहित दावी पेस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । दाहालले आज शपथ लिँदैछन् ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेसका अरु पनि थुप्रै नेताहरूले प्रधानमन्त्री दाहाललाई बधाई दिएका जानकारी दिए ।

पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको जानकारी दिए ।
उनले यसअघिको नेपाली कांग्रेससँगको गठबन्धनमा कांग्रेसले सहमति नमानेर धोका दिएपछि नयाँ विकल्पमा जानुपरेकाे बताए । उनले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भए पनि कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको प्रष्ट पारे ।
उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथपछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !