वीरगंज। वीरगंज कोरिडोरमा २५ करोडको लागतमा कलम उद्योग स्थापना भएको छ । बारा, परवानीपुर गाउँपालिका ४ चैनपुरमा शुक्रबारदेखि उक्त उद्योग संचालनमा आएको हो।विणाशक्ति पेपर एन्ड स्टेशनरी प्रोडक्ट उद्योगबाट २४ घण्टामा तीन–चार लाख कलम उत्पादन गर्ने क्षमता रहेको उद्योगका सञ्चालक मनोजकुमार मरोडियाले जानकारी दिए ।

कलममा नेपाल आत्मनिर्भर नभएको र आयात गरी यहाँका मागलाई धान्नुपर्ने बाध्यता रहेकोले अढाई कट्ठा जग्गामा आफ्नो उद्योग सञ्चालन भएको र यसले आयातलाई कम गर्ने विश्वास व्यक्त गरे । तीन तले भवनमा जापानी, जर्मन र भारतीय प्रविधिको संयोजनमा कलम उत्पादन हुने सञ्चालक मरोडियाले बताए ।
मरोडिया वीरगंज, आदर्शनगरका व्यवसायी हुन् र उनले विगत १६ वर्षदेखि स्टेशनरीको ब्यापार गर्दै आएका थिए । यो उद्योग नेपालकै एउटा ठूलो प्रविधि भएको र कच्चा पदार्थ आयात गरी कलम उत्पादन गर्ने पहिलो उद्योग भएको उनको दावी छ ।
यसअघि, नेपालमा स्टारलाइन कलम उद्योग सञ्चालनमा आए तापनि अहिले सो उद्योग बन्द छ । साथै विराटनगरमा रेन्को ब्रान्डको कलम उत्पादन गर्ने उद्योगले पनि आंशिक रुपमा मात्र कच्चा पदार्थ ल्याएर एसेम्बल गरी कलम उत्पादन गर्दै आएको छ ।करिब १६ प्रकृतिका कलमहरु ५ देखि ५० रुपैयाँसम्ममा उपलब्ध हुने गरी उत्पादन गरिरहेको उद्योगले निकट भविष्यमै थप १५ करोड लगानी गर्ने संचालक मरोडियाले जानकारी दिए।
यस उद्योगमा एकसय २५ जनाको हाराहारीमा नेपाली नागरिकले रोजगारी पाउने व्यवस्थापकले बताएको छ । गुणस्तरीयताको हिसाबले भारतीय ब्रान्डहरु सेलो, लिंकलेयर, हाउजर, मोन्टेक्स जस्ता कम्पनीलाई टक्कर दिन फ्रेन्ज ब्रान्डमा कलम उत्पादन हुने उनले बताए ।यो उद्योगले बलपेन, जेलपेन, इरेजर, सार्पनर, मार्कर र स्केल पनि उत्पादन गर्ने बताइएको छ । नेपालमा वार्षिक ३० करोड थान कलमको खपत रहेको अध्ययनले देखाएको छ । जसमध्ये तीस प्रतिशत अवैधानिक रुपमा भारतबाट चोरबाटो भित्रिने गरेको व्यवसायीको आँकलन छ ।

















