काठमाडौं। वन तथा वातावरण विभागले आज (पुस १ गते)देखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ।

विभागले गत मंसिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्कासनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिबाना गरिने विभागले जनाएको छ।
यसैगरी, विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ।
अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी दिएको छ। कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ।
छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ। साथै, टोल छिमेकमा खुलारूपमा फोहोर जलाउने तथा जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत विभागले आग्रह गरेको छ। खुलारूपमा फोहोर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ। रासस

















