जनकपुरधाम । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्र धनुषाको विदेह नगरपालिका–९, इटहर्वाबाट २४ लाख रुपैयाँ बढी अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला, मंगपट्टी–१ मंदिर, विशौलका २३ वर्षीय उमेश कुमार छन्।

नं.२ छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडा मगरको विशेष सुराकीको आधारमा संयुक्त रूपमा खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ११ बजे उनलाई पक्राउ गरेको हो। भारतबाट अवैध रूपमा नेपालतर्फ नेपाली नम्बर प्लेट प्रदेश–२–०२ ००५ प ५७९८ नम्बरको नीलो रङको अपाचे मोटरसाइकलको ट्यांकीमा लुकाएर २४ लाख १७ हजार रुपैयाँ ल्याएको भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।

अवैध रकम ल्याउँदै गरेको सुराक पाएपछि उनलाई पक्राउ गर्न नं. २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी हवल्दार आत्माराम राउतको कमाण्डमा ४ जना, नं.८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक केदारनाथ सापकोटाको कमाण्डमा ४ जना र बीओपी धनौजीबाट सशस्त्र प्रहरी निरीक्षक मनिषकुमार कटुवालको कमाण्डमा ४ जनाको संयुक्त टोली खटिएको थियो।

बरामद रकम, अन्दाजी २ लाख रुपैयाँ मूल्यको अपाचे मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

















