कतार । कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न अध्ययनदेखि फुटबल पण्डितहरुले समेत ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी गरेका थिए ।हुन पनि ब्राजिलको टिम हेर्दा त्यस्तै लाग्थ्यो । हरेक पोजिसनमा नाम चलेका खेलाडी ।

हरेक खेलाडीको विकल्प । अनि सर्वाधिक पाँच पटकको च्याम्पियन । स्टार खेलाडी नेमारसहित भिनिसियस जुनियर, रोड्रिगो, राफिन्नहा जस्ता फरवार्ड रहेको ब्राजिलियन टोलीमा कासेमिरो, फाबिन्हो, लुका पाक्वेटा र फ्रेड मिडफिल्डमा थिए ।एलिसन बेक र एडरसन जस्ता गोलकिपर थिए । थियागो शिल्भाको नेतृत्वमा डिफेन्समा मार्क्विन्होसलगायत खेलाडी थिए ।विश्वकपको २२ वटै संस्करण खेल्ने एक मात्र टिम ब्राजिल उपाधिको सदाबाहर दाबेदारसमेत हो ।
तर, दोस्रो पटक एसियामा विश्वकप हुँदा २० वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्य राखेको ब्राजिलको चाहना यस पटक पूरा हुन सकेन । सन् २००२ मा पहिलो पटक एसियामा विश्वकप हुँदा ब्राजिलले पछिल्लो पटक उपाधि जितेको थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा ब्राजिलले जर्मनीलाई २-० ले हराएर च्याम्पियन बनेको थियो ।त्यसपछि हरेक संस्करणमा उपाधि दाबेदार बने पनि ब्राजिल फाइनलसम्म पनि पुग्न सकेको छैन ।
अझ रमाइलो संयोग त के छ भने त्यसपछिका हरेक विश्वकपको नकआउट चरणमा ब्राजिल युरोपियन टिमसँग नै पराजित हुँदै बाहिरिएको छ ।२००२ यता पाँचै विश्वकपमा ब्राजिल युरोपको टिमसँग पराजित हुँदै बाहिरिएको हो । २०१४ मा त आफैं आयोजक हुँदा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा पनि नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
क्रोएसियासँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि ब्राजिल घर फर्कने पक्का भएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको थियो । त्यो बेला ब्राजिल बेल्जियमसँग पराजित भएको थियो ।यस समूह चरणको सुरुआती दुई खेल जित्दै एक खेल अगावै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको थियो । दोस्रो रोजाइँको टिम खेलाउँदा अन्तिम खेलमा क्यामरुनसँग पराजित भए पनि अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले हराएर आफ्नो दाबेदारीलाई कायम राखेको थियो ।
हरेक विपक्षीका लागि ब्राजिल चुनौतीको रुपमा खडा थियो ।तर सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले क्वाटरफाइनल समेत पार गर्न सकेन ।‘क्रोएसियाका कप्तान लुका मोडरिचको भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ,’ क्वाटरफाइनल खेलअघि उनले भनेका थिए, ‘निश्चय पनि, ब्राजिल फेभरेट टिम हो । फेभरेटले पनि हार्छ ।’१२० मिनेट र ८ पेनाल्टीसुट प्रहारपछि मोडरिचको भनाई सही सावित भएको छ भने ब्राजिल अधुरो सपना लिएर घर फर्कने पक्का भएको छ ।
ब्राजिलको लागि क्रोएसियाविरुद्ध खेलपछि सम्झने कुरा एउटै रह्यो ।नेमारले एक गोल गर्दै महान खेलाडी पेलेको नाममा रहेको ब्राजिलका लागि सर्वाधिक गोल गर्ने ७७ गोलको कीर्तिमान बराबरी गरे । तर अर्को दु;खद के रह्यो भने उनै नेमार पेनाल्टी सुटआउटमा पेनाल्टी हान्न नपाइ बाहिरिए । अन्तिममा पेनाल्टी हान्न बसेका नेमार आफ्नो पालो नआइ ब्राजिल आउट भएर तथ्य स्वीकार गर्न बाध्य भए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !