काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । बिहीबार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन् ।

उनले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताए । उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए । उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए ।
काँग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे । उनले भने, ‘काँग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ । त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ । त्यही दिशामा अगाडि बढाउनका लागि वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशिलता पनि रहनेछ ।
सिधा कुरा छ, नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी काँग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडी बढेको छ ।’
उनले थपे, ‘सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडी आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन । अहिले हामी काँग्रेसभित्रको एकताको वातावरण बनाउनु छ । सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ ।
काँग्रेसले आफू एकतावद्ध भएर अहिले रहेको सत्ता गठबन्धनलाई पनि एकतावद्ध रहेर त्यसपछि अरु बाँकी दलहरुलाई पनि यो मुलुकको विकास निर्माणको अभियानमा, संसदलाई प्रभावकारी बनाउने अभियानमा सबैलाई जोडेर जानुपर्ने पहिलो पार्टी भएको नाताले नेपाली काँग्रेसको मुल दायित्व छ । त्यो दायित्वलाई हामी सबैले गम्भिरतापूर्वक लिएर अगाडि बढ्यौँ ।’
उनले थपे, ‘छलफल र संवाद ग¥यौँ भने मलाई लाग्छ संसदीय दलको नेताको निर्वाचनपनि सर्वसम्मत तरिकाले अगाडी बढ्नसक्छ । सबै खालको र सबै तहको नेतृत्वलाई, सबै उमेर समूहको नेतृत्वलाई सबै ठाउँमा समावेश गरेर सबै तहमा मिलाएर लिन सकिन्छ । र मिलाउनुपर्छ भन्ने मलाई लाग्छ र त्यो विश्वास पनि छ ।’
उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ । उनले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।
उनेल भने, ‘कुनै नेताहरुले आफ्नो आकांक्षा राख्ने कुरालाई अन्यथा मान्नु हुँदैन । लोकतन्त्रमा कुनैपनि निर्वाचन प्रक्रिया अगाडि आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकांक्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकांक्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो । मलाई विश्वास छ त्यो वातावरण बन्नसक्छ । त्यसमा अत्यन्त इमान्दारीपूर्वक, निष्ठापूर्वक मुलुकको परिस्थिति, आम नेपाली जनताको अहिलेको दलहरुप्रति, सत्ता गठबन्धन प्रतिको आशा, भरोसा, विश्वास जुन खालको संकेतहरु आएको छ, त्यसप्रति हाम्रो पहिलो इमान हुनुप¥यो ।’
उनले फेरि भने, ‘त्यसप्रति प्रतिबद्ध हुनुप¥यो । त्यो इमान र प्रतिवद्धतापछि हाम्रो महत्वकांक्षाहरुलाई अगाडि बढाउने कुरा छर्दैछ । तर मुल विषय त देश हो । जनता हुन् । पार्टी हो । सबैको महत्वकांक्षालाई सेफ ल्याण्डिङ गरेर, सबैको सम्मान रहनेगरी, सबैको भुमिका रहनेगरी, सबैले मिलेर काम गरेर नयाँ तरिकाको राष्ट्र निर्माणको अभियान अगाडी बढाउने सन्दर्भमा त्यो सकिन्छ भन्ने लाग्छ ।’
उनले सत्तागठबन्धनकै सरकार बनाउने बताए । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए । त्यसका निम्ति काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडी बढाउनुभएको उनले उल्लेख गरे । सहमतिमै सरकारको नेतृत्वको चयन हुने उनले स्पष्ट पारे ।
उनले भने, ‘हामी अहिलेको सत्ता गठबन्धनका दलहरुका बीचमा सहमति, समझदारी कायम गर्ने प्रक्रिया शुरु भएको छ । सत्ता गठबन्धन दल र निर्वाचित अरु दलका साथीहरुलाई समेत जोडेर हामी सरकार निर्माणको प्रक्रियामा अगाडी बढ्नेछौँ । अहिलेकै सत्ता गठबन्धन दलकै नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया सफल हुन्छ भन्ने हामीलाई विश्वास छ ।’
उनले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताए । उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।
उनले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताए ।
