विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसबाट हुने भएपनि प्रधानमन्त्रीका लागि अनावश्यक हल्ला भएको बताएका छन् ।

उनले महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बन्नका लागि प्रक्रिया पुरा गर्नुपर्ने भएकाले बाहिर धेरै हल्लन नगर्न पनि सुझाव दिएका छन् । उनले भने,‘ धरै हल्ला गर्दा हल्का भइन्छ, प्रधानमन्त्री भइदैन् ।’
बिहीबार आफ्नै निवास विराटनगरमा पत्रकार सम्मेलन गरी हाल कायम रहेको गठबन्धनले निर्वाचन पछि पनि निरन्तरता पाउने र नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने कोइरालाले बताए । उनले सत्ता गठबन्धनका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगै अन्य साना दलहरू पनि नयाँ सत्ता समिकरणमा थपिन सक्ने बताए ।
उनले भने ‘गठबन्धनका मुख्य दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीसँगै केही साना दलहरू पनि सरकारमा आउने संभावना छ ।’ कोइरालाले नेपाली कांग्रेसमा प्रधानमन्त्री को हुने भन्नेबारे विषय संसदीय दलको निर्वाचन पछि मात्रै थाहा हुने स्पष्ट पारे । उनले संसदीय दलभित्र जसले बहुमत पुर्याउन सक्छ, उही नेपाली कांग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री बताए ।
कोइरालाले आफु प्रधानमन्त्रीको दौडमा रहने कि नरहने भन्ने कुरा संसदको संख्यामा निर्भर रहने र काठमाडौं पुगेपछि सभापति र अन्य नेताहरूसँग छलफल गरेरमात्रै जवाफ दिने बताए । कांग्रेसका महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने चर्चाको विषयमा कोइरालाले हल्ला गरेर मात्रै प्रधानमन्त्री हुन नसकिने बताए ।
बाहिर हल्ला गरेर प्रधानमन्त्री हुने चाहना गरेर मात्रै प्रधानमन्त्री हुन नसकिने भन्दै कोइरालले भने ‘संसदमा बहुमत पुर्याउनुपर्छ । बन्ने प्रक्रियामा जाउँ त्यसपछि एउटा रिजल्ट आइहाल्छ । तर, धेरै हल्ला गरियो भने काम पनि बन्दैन र अरुको नजर हल्का पनि भइन्छ ।’
उनले अबको मुख्य एजेण्डा सुशासन भएकाले सुशासन विना देश चल्न नसक्ने भन्दै भ्रष्टाचारका कारण देश धरासायी भएको, भ्रष्टाचार न्यूनीकरण र सुशासन अबको सरकारको प्राथमिकता हुनुपर्ने बताएका कोइरालाले विराटनगरलाई राजनीतिक राजधानीका लागि पुनःस्थापित गर्ने दाबी पनि गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !