वीरगंज । पर्सा क्षेत्र नम्बर ३ को मतपरिणामको विवाद टुंगो लागेको छ । आज बिहान समानुपातिकतर्फको मतगणना सम्पन्न गरी आधिकारिक रुपमा विजयी घोषणा गरेपछि उक्त विवाद टुंगिएको हो ।पर्सा ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता नै निर्वाचित हुनुभएको छ । गुप्ताले १६७ मत बढी ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई हराएका हुन् ।
यसअघि प्रत्यक्षतर्फको अन्तिम मतपरिणाममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर विजयी हुनुभएको थियोे । उहाँले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार चौधरीलाई १ सय ५१ मतान्तरले पराजित गरेका थिए । चौधरीले २४ हजार १ सय ९ मत ल्याएका थिए । तर हराएको २ सय ७२ मतको समेत गणना गर्दा गुप्ताले मतान्तर बढाएका छन् । पर्सा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले पहिलोपटक विजयी घोषणा गर्दा गुप्ता र चौधरी १ सय ५१ मतान्तर रहेको थियो ।
अहिले छुटेको मतपत्र गणना गर्दा १६ मत बढी अर्थात १ सय ६७ मतान्तरले गुप्ता नै पुनः विजयी भएका हुन् ।विजयी उम्मेदवार गुप्तालाई पर्सा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत ढकालले आज एक कार्यक्रमका बिच प्रमाणपत्र समेत प्रदान गरेका छन् । पर्साको यस क्षेत्रमा खसेको मत भन्दा गणनाको क्रममा २ सय ७२ मत कम भेटिएपछि विवाद सुरु भएको थियो । गत मंसिर ४ गते सम्पन्न मतदानको क्रममा पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ ६४ हजार ४ सय ४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १ सय ७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको भेटिएपछि विवाद सुरु भएको थियो ।
दुवैपक्षका उम्मेदवारले सड्यन्त्र गरेर हराउन खोजेको भन्दै एक अर्कामाथि आरोप लगाएका थिए । प्रत्यक्ष तर्फको गणनामा कम भएको मध्ये १५५ मतपत्र समानुपातिक तर्फको मतपेटिकामा भेटिएको थियो । तीमध्ये ५९ मत एमालेका गुप्ताले , काँग्रेसका चौधरीले ४३ मत र नेपाल सुशासन पार्टीका राज कुमार यादवले २२ मत पाएका छन् ।
बाँकी ३१ मत अन्य उम्मेदवारले पाएका छन् ।अन्तिम नतिजा अनुसार एमालेका गुप्ताले २४ हजार २ सय ७६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चौधरीले २४ हजार १ सय ५२ मत प्राप्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !