झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नो पार्टीले समर्थन गरेका उम्मेदवार हराउने अभियानमा लागेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जित सुनिश्चित पार्न झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको थियो ।
अध्यक्ष ओलीको उक्त निर्णयविरुद्ध सुरुदेखि नै बोल्दै आएका प्रसाईं अन्तिम समय आइपुग्दा लिङ्देनलाई हराउन खुलेर मैदान उत्रेका छन् । लिङ्देनलाई हराउन मैदान उत्रेका गुर्दा गठबन्धनका उम्मेदवारलाई जिताउन भोट मागिरहेका छन् ।
झापा–३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् । प्रसाईं पछिल्ला दिनहरूमा जनताको घरदैदो पुगेर सिटौलाको पक्षमा भोट मागिरहेका छन् ।
बुधबार मात्र सिटौला र प्रसाईंबीच भेट भएको थियो । उक्त भेटमा प्रसाईं र सिटौलाले हात जोडेर एकतावद्ध भएको सन्देश दिनेगरी फोटो खिचाएर सार्वजनिक गरिएको थियो ।
झापाको बिर्तामोडमा बी एण्ड सी अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंको झापा–३ क्षेत्रमा राम्रै प्रभाव रहेको मानिन्छ ।
एमालेको समेत समर्थनमा चुनावी मैदानमा रहेका लिङ्देन बलियो प्रतिस्पर्धीका कारण त्यसै पनि कमजोर रहेको विश्लेषण हुने गरेको बेला एमालेका धेरै नेता कार्यकर्ता लिङ्देनलाई भोट नहाल्ने अवस्थामा पुगेका छन् ।

















