काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको निर्वाचनमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन मतदातालाई आग्रह गरेका छन् । आज बिहान एक भिडियो सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताउँदै निर्वाचनको ऐतिहासिक महायज्ञ सफल पार्न आग्रह गरेका हुन् ।
उनले जहानियाँ राणाशासनविरुद्धको आन्दोलनदेखि अहिलसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको उल्लेख गर्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिकाे मार्गमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक तथा सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेकाे बताउँदै प्रधानमन्त्री देउवाले अब मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै रहेकाे बताएका छन् ।
‘२०४६ सालपछि मुलुकले आर्थिक र समाजिक विकासमा एउटा बाटो लिएको छ । तर पनि अझै धेरै काम गर्न बाँकी छन् । हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढ्नेछौँ’, भिडियाेमा प्रधानमन्त्रीले भनेका छन् ।
उनले शासन प्रणालीलाई उत्कृष्ट पारेर सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको वर्ग र समुदायको उत्थानमा नेपाली कांग्रेसको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै प्रधानमन्त्री देउवाले यसमा अझै परिणाम देखिनेगरि काम अघि बढाइने बताएका छन् ।
निर्वाचनमा मतदाताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुई–दुई पटक संसद विघटन भएपछि असहज र अन्यौलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर रहेकाे पनि सुनाएका छन् ।
सहमति र सहकार्यकाे जगमा गठबन्धन सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलकुलाई अघि बढाउन दृघसंकल्पित रहेकाे बताउँदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘हामी कुरा होइन काम गर्नेछौँ भन्नेमा विश्वास दिलाउँदै निर्वाचनलाई लाेकतन्त्रकाे उत्सवकाे रूपमा लिन अपिल गर्दछु ।’
हेर्नुहाेस् भिडियाे :
फेसबुकबाट तपाईको प्रतिक्रिया !