काठमाडौं । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पतीलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।
फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई मानव तस्करीका संलग्न भएकोमा दोषी करार गरिएको हो । उनीहरु दुबैलाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ ।
सापकोटा दम्पतीलाई फिनल्याण्डको पिर्कान्मा जिल्ला अदालतले जेल सजायसँगै क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ । डिलारामले ३ वर्ष ८ महिना जेल सजाय पाएका छन् भने उनकी पत्नी रिमाले २ वर्ष १० महिना जेल बस्नुपर्ने भएको छ ।
सापकोटा दम्पतीले फिनल्याण्डको ट्यामपिरेमा खोलेको रेष्टुरेण्टमा नेपालबाट कामदार ल्याई जबर्जस्ती काममा लगाउने गरेको ठहर अदालतले गरेको छ । कामदारहरुलाई बिहान सबेरैदेखि राति अबेरसम्म जबर्जस्ती काममा लगाउने, उनीहरुलाई सातामा एकदिन पनि बिदा नदिने र उल्टै कामदारबाटै जबर्जस्ती हजारौं युरो रकम आफू र आफन्तका नाममा टान्सफर गर्न लगाएको अदालतको ठहर छ ।
अदालतले यो दम्पतीलाई ६ जना नेपाली कामदारलाई पीडा दिएकोमा सजाय सुनाइएको छ । जसमध्ये अदालतले ४ जनाको मानव तस्करी गरेको, एक जनाबाट जबर्जस्ती असुली गरेको र अर्कोलाई रोजगारीमा विभेद गरेको प्रमाणित गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !