काठमाडौं । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलबाट प्रहरीले लागुऔषध ‘खात’सहित दुई जनालाई पक्राउ गरेको छ । सीआईबी र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उपत्यकाबाट नयाँ प्रकारको लागुऔषध बरामद गरेको ब्यूरोले जनाएको छ ।

लामो समय सुचना संकलन गरेर कार्तिक २७ मा ग्रिन टि भनेर बेचविखन हुने गरेको लागुऔषध ‘खात’ ४८० किलो बरामद गरिएको ब्यूरोका एसपी योगेन्द्र कुमार खड्काले बताए ।पक्राउ पर्नेमा धापाखेल घर भएका ३६ वर्षका कविराज खड्का र धादिङ सिद्धलेक गाउँपालिका घर भएका २८ वर्षीय राम कुमार श्रेष्ठ छन् ।
कबिराज खड्काको घर कम्पाउण्डमा बा.२० च १५८ नम्बरको बोलेरो जिपमा प्याक गरेको अवस्थामा २२० केजी र घरमा लुकाएर राखेको अवस्थामा २६० काटुर्न खात प्रहरीले बरामद गरेको छ ।
खात एक प्रकारको बनस्पती हो, जसलाई १९८० मा विश्व स्वास्थ्य संगठनले ‘लागुऔषध’ बर्गिकरण गरेको थियो । यमन तथा ईथियोपिया लगायतका अफ्रिकन मुलुकमा खातको खेती हुने गर्छ । ‘खात’को प्रयोग गर्दा प्रयोगकर्तालाई भोक नलाग्ने र क्यान्सर समेत हुनसक्छ ।
यसलाई ‘सोमाली टि’ र ‘अरेबियन टि’ पनि भनिन्छ । यसलाई चपाएर, चुरोट जसरी वा ग्रिन टि खाएर जसरी पनि खाने गरिन्छ ।खातलाई अमेरिकामा १९७१ मे १ देखी प्रतिबन्ध लगाइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !