मधेश । त्यहीमाथी दक्षिणी बेल्टको देहात । जहाँ महिलाहरु घुम्टो भित्र आफ्नो संसार सम्झन्थे । त्यही समाजमा जन्मेकिथिईन उनि । उतिबेला महिलाहरुको लागि विद्यालय एकादेशको कथा थियो । अनगिन्ती ब्याथाहरु हुन्थे तर ओकल्दैनथिए । यस्तै समाजमा जन्मिएकी चित्रलेखा यादव भने सामान्य महिला भन्दा अपवाद थिईन् । पढिन् । शिक्षिका बनिन् । राजनीति गरिन् । मन्त्री मात्रै होईन उपसभामुख समेत बनिन् । तिनै चित्रलेखा यादव यस पटकको आम चुनावमा पनि सिरहा क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्यमा कांग्रेसबाट उमेदवार बनेकीछन् ।
को हुन् चित्रलेखा ?
यमुनाप्रसाद यादव तथा माता रामरतिया यादवको पहिलो सन्तानको रूपमा २०२२ जेठ १५ गते सिराहा जिल्लाको नहरनिया गाउँमा जन्मिएकी हुन् चित्रलेखा यादव । राजा ज्ञानेन्द्रले निर्वाचित प्रतिनिधि सभा विघटन गरेपछि उपसभामुखको हैसियतले सडकमै प्रतिनिधि सभा बैठक बोलाएर चर्चित भइन् । गणतन्त्र ल्याउनका लागि, जनतालाई स्वतन्त्र गर्नका लागि, थोरै भए पनि काम गर्न सकेकोमा उनी गर्व गर्छिन् । १८ महिना शिक्षामन्त्री सम्हालेकी उनी विवादरहित भने हुन सकिनन् ।
छोरीलाई पढाउन राख्दा घरमा रुवाबासी
यादवले २०३९ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् । उनको बालविवाह भएको हो भन्दा फरक पर्दैन । ‘उतिबेलाको समाजमा छोरीलाई पढाउन हुँदैन भन्ने अनि छिट्टै विवाह गरेर पठाउने चलन थियो,’ उनी भन्छिन्, ‘धन्न मेरो बुवाले भने अरूको कुरा सुन्नुभएन र पढाउनुभयो ।’
भएछ के भने घरमा बस्यो भने छोरी ठूली भई बिहे गर्दिन प-यो भनेर दबाब दिइरहने, विवाहको कुरा चलिरहने । यस्ता कुराबाट छोरीको पढाइमा असर पर्छ भन्ने ठानेर उनका बुवाले काठमाडौं आएको बेला छोरीलाई पनि सँगै ल्याएछन् र भर्ना गरिदिएछन् थापाथलीस्थित महेन्द्र आदर्श विद्यालयमा । छोरीलाई भर्ना गरिदिएर उनका बुवाले चित्रलेखालाई काठमाडौंमा विद्यालयकै होस्टेलमा बसाली घरतर्फ लागेछन् ।
घर पुग्नेबित्तिकै चित्रलेखाकी हजुरआमाले नातिनी खै ? भनेर सोधिछन् । काठमाडौैंमा पढ्न राखेको भनेपछि त चित्रलेखाकी हजुरआमा, आमा किन छोरीलाई एक्लै छोडेर आएको भनेर रुवाबासी नै चले छ । विवाह गर्ने बेला भएकी छोरीलाई एक्लै छोडेर आएको भनेर -याख-याख्ती पारेछन् । राष्ट्रिय पञ्चायतमा २ पटकसम्म सांसद भइसकेका चित्रलेखाका बुवाले शिक्षाको महत्व बुझेका थिए । छोरीलाई पढाउनुपर्छ भनेर सम्झाइबुझाइ गरेछन् अनि बल्ल घरपरिवारका मान्छे शान्त भएछन् ।
९ कक्षामा पढ्दापढ्दै बिहे
त्यतिबेला छोरीको छिट्टै विवाह हुने चलन थियो । १८ वर्षमै विवाह भएकी चित्रलेखाको अरूको तुलनामा ढिलो भएको बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेला यमुनाप्रसादले छोरी बुढी बनाए भनेर गाउँभरि हल्ला चलाइयो तर बुवा विवाह गरिदिन मानिरहनु भएको थिएन तर समाजको अगाडि उहाँको पनि केही जोर चलेन त्यसपछि ९ कक्षा पढ्दापढ्दै विवाह गरिदिनुभयो । विवाह गरिदिनुमा पनि सर्त थियो विवाहपछि पनि छोरीलाई पढाउनुपर्छ ।’ यो सर्त केटापक्षले मानेपछि उनको बिहे भयो ।
श्रीमान्कै कारण पढ्न पाएँ
श्रीकृष्ण यादवसँग उनको विवाह भयो । उनका श्रीमान् निकै सहयोगी र पढाइको महत्व बुझेको उनी बताउँछिन् । कतिसम्म भने बच्चा भएपछि गाह्रो हुन्छ भनेर आइए पढ्दा उनका श्रीमान्ले क्याम्पसको नजिकै घर बनाएछन् । क्याम्पसको नजिकै घर हुँदा खाली भएको समयमा बच्चालाई दूध खुवाउन आउनजान उनलाई सहज भयो ।
सासू–ससुराले पनि धेरै नै सहयोग गरेको उनले बताइन् । आइए पढ्दासम्म उनी सिराहामा रहिन् त्यसपछि भने छोरालाई घरमा, छोरीलाई माईतीमा राखेर उच्च शिक्षाका लागि काठमाडौं हान्निईन् । उनका श्रीमान् भने विद्यावारिधिका लागि इन्डिया गए । ‘हामी यसरी छिन्नभिन्न भयौं, परिवारको यतिसम्म याद आउँथ्यो कि सीमा नै थिएन,’ उनी भन्छिन्, ‘बच्चाहरु देख्यो कि मेरो मनमा आँधी नै चल्थ्यो । एकपटक त झोला मिलाएर बसपार्कसम्म पुगेर पनि फर्केकी छु ।’
बुहारी पढायो भनेर गाउँमा कुरा काटे
छोरीलाई पनि पढाउने चलन नभएको त्यतिबेलाको समाजमा बुहारीलाई पढाएपछि गाउँभरि चर्चा चलेछ । ‘यसले गाउँको नियमै बिगा-यो भनेर सासू–ससुरालाई निकै दबाब आयो । अब हामीहरुले पनि पढाउनु पर्छ भनेर अत्तालिएका थिए उनीहरु,’ उनी भन्छिन्, ‘त्यसपछि मैले गाउँका केटाकेटी बटुलेर फ्रिमा अङ्ग्रेजीलगायतका विषय पढाएँ । तिनै विद्यार्थीले मेरो गुणगान गाइदिएपछि भने मलाई सहज भयो ।’ राम्रोसँग खाना पनि पकाउन नआउने मलाई घरबाट पनि कहिले दबाब नआएको उनले बताइन् ।
त्यो ‘चाइल्ड साइकोलोजीको क्लास’
मास्टरमा चाइल्ड साइकोलोजीको क्लास हुँदा भने आफूलाई खपिनसक्नुभएको उनले बताइन् । उनले भनिन्, ‘चाइल्ड साइकोलोजीमा बच्चा बच्चीलाई आमा–बुवाले छोड्नु हुँदैन भन्ने थियो, हामी भने चारतिर थियौं, जहिले पनि आफूले भनेअनुसार हुर्काउन पाइएन भन्ने लागिरहन्थ्यो । कति चोटी भक्कानिएर पनि रोएँ तर जब पढेपछि दीर्घकालीन फाइदा हुन्छ भन्ने सोच्थेँ तब भने आफूले आफूलाई सम्हाल्थेँ ।’ धेरै पटक छोराछोरीको सम्झनामा बाथरुममा गएर रोएको उनले बताइन् ।
राजनीतिमा संलग्न
कक्षा आठमा पढ्दा राजनीति सुरु गरेकी हुन्, चित्रलेखा यादवले । पछि उनी त्रिभुवन विश्वविद्यालयको नेविसंघ ईकाइको कोषाध्यक्ष भएर पनि काम गरिन् । विद्यार्थी राजनीति गर्दा स्मरणीय घटनाहरु धेरै भएको उनले बताइन् । एकपटक भएछ के भने प्रजातन्त्रको पक्षमा विद्यार्थीहरुले त्रिवि प्रांगणमा कार्यक्रम राखेछन् । त्यस कार्यक्रममा यादव पनि सहभागी थिइन् । प्रहरी आएर लखेटालखेट गरेछ, भाग्ने क्रममा उनीहरु कीर्तिपुरका घरमा लुक्न जाँदा नलुकाइदिएर पुलिसको कुटाइ खाएको पनि उनको सम्झना छ ।
केटाहरु पनि डराउँथे
चित्रलेखा यादवलगायतका साथीहरु मिठाई खानकै निम्ति कीर्तिपुरदेखि न्यूरोडसम्म आउँथे । त्यति बेला कीर्तिपुरको गाडी पाउन सकसै पथ्र्याे उनले भनिन्, ‘कोचाकोच हुन्थ्यो, सुरुसुरुमा त केटाहरुले निकै पेल्थे पछि भने यी केटीहरु होस्टलका हुन् छोड्दिनु भनेर भनेपछि हेर्नेसम्म आँट गर्दैनथे ।’
शिक्षा नै परिवर्तनको संवाहक
चित्रलेखालाई शिक्षा नै परिवर्तनको संवाहक हो भन्ने लाग्छ । उनी आफू पढेर नै यत्तिको भएको बताउँछिन् । उनले धेरै पटक आफ्ना बुवाले शिक्षाको महत्व बुझेकै कारण आफूले पढ्न पाएको कुरा गरिरहिन् । उनी आफू पनि १८ महिना शिक्षामन्त्री नै भइन् ।
तराईमा अझै बालविवाह र किशोरी शिक्षामा पछाडि परेको, यसका लागि तपाईं नेता तथा मन्त्री भएको बेलामा के गर्नु भयो भन्ने जिज्ञासामा उनले नीतिगत काम धेरै गरेको बताइन् । उनले भनिन्, ‘सरकारी स्कुलको सुधारका लागि काज सिस्टम हटाएँ, छोरी शिक्षाका लागि विशेष अभियान, सोझै शिक्षा मन्त्रालयबाट जाने रकम ८० प्रतिशतभन्दा बढी बेरुजु देखिएपछि त्यो हटाएँ ।’
जनप्रभावकर्मीले उनलाई तराईमा अझ पनि छोरा र छोरीमा विभेद ज्यादा रहेको छ नि भन्ने जिज्ञासामा उनले सोचाइ बिस्तारै परिवर्तन हुँदै जाने बताइन् । उनले भनिन्, ‘हाम्रो पालामा भन्दा धेरै सुधार त भएको छ तर अझ पनि सन्तोष गर्ने ठाउँ भने छैन ।’
साउथ एसियामै पहिलो महिला सभामुख हुने अवसर गुमाउँदा निकै रोएकी थिईन् चित्रलेखा
चित्रलेखा यादवले आफूले साउथ एसियामै पहिलो सभामुख हुने अवसर गुमाउँदा निकै रोएको बताएकी छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेतृ यादवले आफू सभामुख हुन नपाउँदाको विषय स्मरण गर्दै यस्तो बताएकी हुन्। ६२–०६३ को जनआन्दोलनका क्रममा विघटति प्रतिनिधिसभाको सडकमा अधिवेशन चल्दा तत्कालिन उपसभामुख यादवले सडकमै अधिवेशन चलाएकी थिइन्।
तत्कालिन सभामुख तारानाथ रानाभाटले सो आन्दोलनलाई समर्थन नगरेकाले सडक संसदको सभामुख यादव भएकी थिइन्। जनआन्दोलनपछि संसद पुनःस्थापित भयो। तर, सभामुख भने यादव हुन पाइनन्। सभामुख तत्कालिन एमाले नेता सुवास नेम्वाङ सभामुख बनेका थिए।
यही घटनालाई स्मरण गर्दै नेतृ यादवले अन्तर्वार्तामा भनेकी छन्, ‘म सभामुख हुन नपाउँदा रोएँ । तर जब मलाई विश्वमै सडक संसदको पहिलो सभामुख भएँ भन्ने ज्ञात भयो धेरै रोएँ। किन पनि रोएँ भने यदि म सभामुख भएको भए साउथ एसियामा महिला सभामुख दिने पहिलो राष्ट्र नेपाल हुने रहेछ। अरु कुरामा जित्न नसके पनि महिलालाई सभामुख दिने राष्ट्रमा नेपालले अरुलाई उछिन्ने थियो। त्यो अवसर गुमाए जस्तो लाग्छ।’
त्यतिबेलासम्म साउथ एसियामा महिलाहरु सभामुख हुन पाएका थिएनन्। तर, २०१०पछि भने भारतमा मीरा कुमार सभामुख बनेकी थिइन्। तर दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा महिलाहरु सरकार प्रमुख तथा राष्ट्र प्रमुख बनिसकेका थिए। नेतृ यादवले यी प्रसंग स्मरण गर्दै आफू सभामुख हुन नपाएको विषयमा त्यतिबेला आफू रोएको विषय खुलाएकी हुन्।
महिलालाई ५० प्रतिशत
हरेक क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने माग चित्रलेखा यादवको हो ।नेतृ चित्रलेखा यादवले अब हरेक क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने बताएकी छन्। उनले त्यसका लागि सम्पूर्ण महिलाहरू एकजुट भएर अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएकी हुन्।
हरितालिका तीजको अवसरमा नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला समितिको शुभकामना आदानप्रदान तथा तीज गीत प्रतियोगितामा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन्।
हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न एकतावद्ध र सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिँदै नेतृ यादवले महिलाहरूको एकताबाट आमूल परिवर्तन हुने बताइन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व सभामुख समेत रहेकी नेतृ यादवले तीजको मौलिकता जोगाउन एकजुट भएर लाग्नु पर्ने बताइन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश २ बाट महिलातर्फको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भईन्। यादवले २७३१ मत प्राप्त गरेर निर्वाचित भएकीथिईन् । उनकी निकटतम प्रतिस्पर्धी गीता चौधरीले १८८५ प्राप्त गरेर पराजित भएकी थिईन ।
मतदानमा ४६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये एक महिला अनिवार्य गरिएको छ। प्रदेश २ को पुरुषतर्फको केन्द्रीय सदस्यमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भएका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था थियो । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !