बुटवल । दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जबर्जस्ती करणीमा संलग्न नौ जनालाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सबा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाइकलमा आएका १२/१३ जनाहरूको समूहले दुई किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जबर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर वस्ने १८ वर्षीय राहुल परियार, वर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर विक, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।
प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरूले मोटरसाइकल तेस्र्याई बाटो छेकी घरेलु धारिलो हतियार देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ वर्षीया र १६ वर्षीया नाबालिकहरुलाई तीनवटा मोटरसाईकलमा अपहरण गरी लगेका थिए ।
तीमध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जवर्जस्ती करणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरूले थाहा पाई प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो ।
त्यसक्रममा ६ जना व्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्धार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित नाबालिकाका दाजुहरू समेत घाइते भएका थिए । एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षिया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अपहरणमा परेकी १५ वर्षीया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब दुई किलोमिटर उत्तरमा फेला पारेको थियो ।
देउराली सामुदायिक वनको घनाजंगलमा लग रातको १ः५५ बजेको समयमा सात जनाले पालैपालो जबर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक चिच्याइरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो । त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्धार गरेको थियो भने घटनामा संलग्न मानिसहरू तत्कालै फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घटनामा संलग्न व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सालझण्डस्, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सम्पूर्ण प्रतिवादीहरुलाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !