दार्चुला । जिल्लाको उत्तरी भू–भाग व्यास गाउँपालिकाको त्रिदेशीय सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी सदैव रहँदै आएको छ। राष्ट्रिय विकरालका रूपमा चिनिएको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणसम्म भएको यस क्षेत्रमा भारतीय पक्षको दबदबा रहँदै आएको छ। भारतीय पक्षले व्यास गाउँपालिकामा आफूअनुकूल गतिविधि सञ्चालन गरिरहँदा नेपाली नागरिक प्रत्यक्ष मारमा पर्दै आएका छन्।
सुरक्षाकर्मीका दुव्र्यवहार, तुइन काट्ने, सुरक्षा जाँचका नाममा खानतलासी, मालसामानमा रोकतोक तथा यात्रा अनुमतिपत्रका नाममा झन्झटका साथै पछिल्लो समय भारतीय पक्षले महाकाली नदीकिनारमा सडक निर्माण गरिरहेका बेला नेपालतर्फ अर्को दुःखद घटना भएको छ।
भारतीय पक्षले पश्चिम नेपालको सीमा क्षेत्र महाकाली नदीकिनारमा निर्माण गरिरहेको तवाघाट–लिपुलेक सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर शुक्रबार बिहान नेपालमा हिँडिरहेका एक अबोध बालकको मृत्यु भएको छ।
व्यास–२ स्थित तम्बाकु क्षेत्रमा बुवासँगै घर फर्किरहेका दुम्लिङका स्थानीय हिक्मत महराका ९ वर्षीय छोरा पवनको ढुंगाले लागेर मृत्यु भएको हो। तम्बाकुबाट दुम्लिङ घर फर्किरहेका बेला भारतीय सडक निर्माणमा जिलेटिन विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगा टाउकोमा लाग्दा पवनको घटनास्थलमै मृत्यु भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !