काठमाडौं । एउटा समय थियो महिलाहरु घरेलु काम गर्थे । तसर्थ महिलाहरुलाई गृहिणीको रुपमा हेरिन्थ्यो । तर, हिजो आज समय फेरिएको छ । लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि मुलुकमा आएको समावेशीताको लहरले यतिबेला हरेक जसो प्रशासनिक संयन्त्रको नेतृत्वमा महिलाहरुको नेतृत्व देख्न सकिन्छ ।

त्यसको पछिल्लो उदाहरण हो नेपाल प्रहरी । प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहको नेतृत्वमा रहेको प्रहरीमा समावेशीताको नमुना देखिएको छ ।

हाल प्रहरीमा दुई अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी)सहित चार जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)ले नेतृत्व सम्हालेका छन् ।
प्रहरीको प्राविधिक तर्फको सर्वोच्च पदमा रहेकी एआइजी हुन् डा. आशा सिंह । उनको कुशल नेतृत्वमा नेपाल प्रहरी अस्पताल सञ्चालनमा छ । महिला तथा स्त्री रोग विशेषज्ञ समेत रहेकी सिंहलाई २०७६ पुसमा एआइजीमा बढुवा गरिएको थियो । नेपाल प्रहरी अस्पतालको नेतृत्वका लागि डिआइजीहरु डा. मिनराज पाठक र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा थिए । तर, अन्तिममा सिंहले नै बाजी मारेकी थिइन् । संयोग यस्तो पनि छ कि यसअघि नेपाल प्रहरी अस्पतालको नेतृत्व गर्ने डा. दुर्गा थापा पनि महिला नै थिइन् ।
त्यस्तै नेपाल प्रहरीको इतिहासमा मधेशी महिलाको तर्फबाट पहिलो पटक एआइजी बन्ने सौभाग्यशाली पात्र बनिन्–पुजा सिंह । हाल प्रहरी प्रधान कार्यालय स्थित मानव स्रोत विभाग प्रमुखको भूमिकामा रहेकी उनलाई गत जेठमा वर्तमान सरकारले एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
चार महिलाको काँधमा डिआइजीको फूली

नेपाल प्रहरीमा चार जना प्रहरी नायव महानिरिक्षक (डिआइजी)मा चार जना महिला छन् । तत्कालिन एसएसपी मीरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा गत असारमा गृह मन्त्रालयले गत असारमा डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मीरा चौधरी, किरण राणा र किरण बज्राचार्य खेलकुद पृष्ठभूमिका हुन्। उनीहरु तिनै जना राष्ट्रिय फुटबल खेलाडी थिए। बज्राचार्य ब्याडमिन्टनकी खेलाडी पनि हुन्।
उनीहरू खेलकुदकै कारण आफूहरूमा शारीरिक क्षमता र ‘हक्की’ स्वभाव विकास भएको विश्वास गर्छन्।
यद्यपि सबैको पृष्ठभूमि भने फरक फरक छ । हाल केन्द्रीय अनुसन्धान ब्युरो सिइआइबीको उपप्रमुख रहेकी दुर्गा सिंह सुदुरपश्चिमको कञ्चनपुरमा जन्मिएकी हुन् । २०५१ साल चैत्रमा उनी प्रहरी निरिक्षक (ईन्सपेक्टर)मा भर्ना भएकी थिइन् । त्यतिबेला सिंहसँगै चौधरी बज्राचार्य र राणा पनि (ईन्सपेक्टर)मा भर्ना भएका थिए ।
हाल काठमाडौं उपत्यका प्रहरी आयुक्त कार्यालयमा पदस्थापना भएकी किरण राणा काठमाडौंमै जन्मे हुर्केकी हुन् । उनले भारतको लखनउबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।
बागमती प्रदेश हेटौँडामा प्रदेश प्रहरी प्रमुखको भूमिकामा रहेकी किरण बज्राचार्य पाल्पामा जन्मे हुर्केकी हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको भूमिकामा मिरा हक्की स्वभावकी प्रहरी अधिकारीको रुपमा चर्चा हुन्छ ।
‘नेपाल जुन समाावेशिताको सिद्धान्त अनुसार महिला, दलित, आदिवासी, जनजाती र पिछडीएको क्षेत्र भनेर छुट्याइएको छ । त्यो अन्तर्गत आउनु सकारात्मक विभेद हो । यो आरक्षण दिन जरुरी छ । किनभने जबसम्म समता हुँदैन तबसम्म विकास हुँदैन,’ डिआईजी दुर्गा सिंह भन्छिन्,‘महिला कमाण्डर हुँदा या महिलाको सहभागिता हुनाले संगठनमा धेरै फरक पार्छ । ५१ प्रतिशत महिलाको जनसंख्या छ भने, खोइ त प्रहरीमा, निजामती क्षेत्रमा, स्वास्थ्यमा, शिक्षामा अथवा राज्यको प्रत्येक निकायमा जनसंख्या अनुसार महिलाको सहभागिता ? जनसंख्याको आधारमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै छ, त्यही अनुसार महिलाको सहभागिता पनि त हुनुपर्छ ।
महिला सहभागिता, महिला शसक्तिकरणका लागि राज्यले अझ धेरै काम गर्न जरुरी रहेको उनी बताउँछिन् । ‘जस्तै महिलाहरु वैदेशिक रोजगारमा जान आकर्षित किन छन् ? किनकी उनीहरुले आफ्नो प्रभुत्व खोजीरहेका छन् । नेपालमै राम्रो जागिर पाए विदेश जाने थिएनौँ भन्नुहुन्छ । प्रत्येक क्षेत्रमा महिला पुरुष बराबर हुनुपर्छ भन्ने समय आइसकेको छ,’ दुर्गा भन्छिन्,‘त्यसकारण सक्षम महिलाहरु प्रत्येक क्षेत्रमा आउनुपर्छ । जसरी अहिले हामीलाई पछ््याएर अरु महिलाहरु आउनुभयो, हामी पनि अरु कसैलाई पछ्याएर आयौं अथवा हामी प्रहरी भएर देशको सेवा गर्छौं । यो भनेको प्रत्यक्ष सेवा जनातासँग जोडिएको सबैभन्दा नजिकको पेशा हो ।’
उनका अनुसार अहिले प्रहरीमा महिलाको सहभागिता १० प्रतिशत पुगिसकेको छ । महिलाको सहभागिता प्रहरीमा मात्र नभई राज्यका प्रत्येक क्षेत्रमा, प्रत्येक निकायमा हुनुपर्ने उनको भनाई छ । ‘आधा आकाश भनेजस्तो प्रत्येक क्षेत्रमा आधा सहभागिता हुनु पर्छ,’ उनी भन्छिन् ।
प्रहरी प्रवक्ता भन्छन्,‘महिला कमाण्डर हुँदा निकै फरक पर्छ’

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक प्रसाद राईका अनुसार पछिल्लो समय प्रहरी संगठनमा समावेशी सहभागीता बढेको छ । ‘लैगिंक समावेशिता मात्र नभएर दलित, जनजाती, आदिवासी लगायत पिछडीएका क्षेत्रबाट पनि प्रहरी संगठनमा समावेशी सहभागीता देखिन थालेको छ,’ डिआइजी राई भन्छन्,‘प्रहरी संठगनमा महिला कमाण्डर हुँदा संगठनमा निकै प्रभाव पर्छ ।
हामी पुरुषहरु भन्दा धेरै व्यवहारिक महिलाहरु हुने भएर पनि होला संगठनमा महिला कमाण्डरहरुको ठूलो भूमिका रहन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !