वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् ।

हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट महादेवपट्टीले संयुक्त रुपमा सवारी साधन चेकजाँच गरिरहेका थिए ।
हुलाकी राजमार्ग अन्र्तगत जिराभवानी गाउँपालिका–२ दुई लाटोमाई मन्दिर नजिक चेक प्वाइन्ट राखिएको थियो । सोही क्रममा सुवर्णपुरबाट आउँदै गरेका ना २ ह १४५४ नम्बरको अटोरिक्सालाई सशस्त्र प्रहरी निरीक्षक साखले रोक्न खोजेका थिए । तर अटो रोकिएन, उनैलाई ठक्कर दियो ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले अटो चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको बताए ।‘सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीले राति चेक प्वाइन्ट थापेर सवारी साधन चेकजाँच गरिरहेका थिए’, उनले भने, ‘अटोलाई रोक्न खोज्दा सशस्त्र प्रहरी निरीक्षकलाई ठक्कर दिएछ । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हो ।’
अटोसहित चालक जगरनाथपुर गाउँपालिका–१ बस्ने सीताराम रायलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखेको छ ।

















