नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिाकार्जुन खड्गे विजयी भएका छन् । अर्का नेता शशी थरुरलाई भारी मतान्तरले पछाडि पार्दै खड्गे निर्वाचित भएका हुन् ।समाचार एजेन्सी एएनआईका अनुसार बुधबार सार्वजनिक मत परिणामअनुसार खड्गेले ७ हजार ८९७ मत ल्याए भने थरुरले करिब १ हजार ७२ मत मात्रै प्राप्त गरे । निर्वाचनमा खसेका कुल ९ हजार ३८५ मतमध्ये ४ सय १६ मत रद्द भएको समाचारमा जनाइएको छ ।
परिणाम सार्वजनिक भएसँगै थरुरले एक विज्ञप्ति जारी गर्दै खड्गेलाई बधाइ दिएका छन् । ‘कांग्रेसको अध्यक्ष हुनु ठूलो सम्मान र जिम्मेवारी हो । म उहाँको सफलताको कामना गर्दछु । मेरो लागि हजारभन्दा बढी सहकर्मीहरूको समर्थन प्राप्त हुनुु पनि महत्वपूर्ण हो’, थरुरले भनेका छन् ।
भारतीय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिर गएको छ । सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रो पटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् ।
सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी दिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् । उनको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले सन् २००४ र २००९ को आम निर्वाचन जितेको थियो ।
भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गरे । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बनिन् ।
त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हालिन् ।इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म अध्यक्ष बने । त्यसपछि १९९६ मा सीताराम केशरीले पार्टी अध्यक्ष बनेका थिए । तर सन् १९९८ मा सोनियाले उनलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गरिन् ।
यसरी भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षको दौरानमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !