विराटनगर । विराटनगर महानगरपालिका ४ र ५ स्थित जामुनगाछीका स्थानीयले नेता बहिस्कार अभियान चर्काएका छन् । मंगलबार प्रहरीले हस्तक्षेप गरेर नेता र ठेकेदारको फोटो सहित टाँसिएको ब्यानर हटाएपछि बुधबार बिहानबाट स्थानीयले सडक अवरुद्ध गरे ।

हुलाकी राजमार्ग अन्र्तगत गणेशचोक देखि केसलिया खोलासम्मको बाटोमा ठाउँठाउँमा ढाट लगाएर सडक अबरुद्ध गरेका हुन् । मंगलबार प्रहरीले हस्तक्षेप गरेर फोटो सहितको ब्यानर हटाएपछि स्थानियले आज ‘विकास विरोधी नेता बहिस्कार’ लेखिएको ब्यानर आइतबारे चोकमा टाँसेका छन् ।
प्रहरीको हस्तक्षेप पछि थप आक्रोशित भएका स्थानियले कालो झण्डा समेत लगाएका छन् । आज पनि प्रहरीले हस्तक्षेप गरेर ब्यानर हटाउन खोजेको अभियानका संयोजक उत्तम दाहालले बताए । उनले कोसी अनलाइनसँग भने, ‘हिजो हामी नभएको मौका छोपेर प्रहरीले ब्यानर निकालेर लग्यो । आज पनि आएर जबरजस्ती हटाउन खोजेको थियो । हामीले हटाउन दिएनौ ।’ स्थानियले विकास विरोधी नेता बहिस्कार अभियानलाई तिब्रता दिएपछि जामुनगाछीमा प्रहरीले निगरानी बढाएको छ ।
शान्तीपूर्ण रूपमा ब्यानर टाँसेर आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि सडक अबरुद्ध गर्न बाध्य भएको स्थानियले बताए । राजमार्ग पश्चिमलाई महानगरको मापदण्ड अनुसार विकास गर्नुपर्ने उनीहरूको माग छ ।

















