जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रममा मुख्यमन्त्री राउतले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडी बढाउनका लागि संघीय सरकारले आग्रह गरेको बताउँदै प्रदेश सरकारको अनुभूति गराउनका लागि पनि प्रहरी सङ्गठन प्रदेश सरकार मातहत हुनुपर्नेमा जोड दिनुभयो ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपालको शान्ति सुरक्षामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै मधेश प्रदेश सरकारले संघीय सरकारको अवरोधका कारणले प्रदेशमा प्रहरी भर्ना गर्न नसकेको बताउनुभयो ।
मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक मकसुद आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नेपालको शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नमा प्रहरीको भूमिका महत्पूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान दिएका लाईफ नेपाल नामक संस्थालाई सम्मानित गरिएको थियो । यसैगरि सहिद परिवारहरूलाई पनि मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !