काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुको पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी जवानहरुलाई प्रोत्साहित गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग यसबारे निर्णय गर्न छलफल गरिरहेको छ ।’
यो निर्णयपछि सिपाहीहरुले निश्चित अवधि संगठनमा उत्साहित भएर काम गरेर बाँकी समय उर्जाशील रहँदै अन्य क्षेत्रमा काम गर्न सक्ने खाँणले बताए । हाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुले सेवा सुरु गरेको २० वर्षपछि मात्रै पेन्सन पाउने गर्छन् ।
नेपाली सेनामा २९ पुस २०७७ मा नै पेन्सन अवधि १६ वर्ष बनाउने सर्तसहितको निर्णय भइसकेको छ । जसअनुसार १६ वर्षमा पेन्सन लिएर स्वेच्छिक अवकाश रोज्न सकिने भए पनि सुविधा चाहिँ २० वर्षपछि मात्रै लिन पाइने उल्लेख थियो ।राज्यलाई आर्थिक भार बढ्ने भन्दै पहिले पटकपटक गरिएको प्रस्ताव अर्थ मन्त्रालयले फर्काइदिने गरेको थियो । त्यसपछि मध्यमार्गी बाटो निकालेर पेन्सन अवधि घटाउने निर्णय भएको थियो ।
गृहमन्त्री खाँणले प्रहरीमा तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउन विभिन्न प्रयासहरु भएको बताए । ‘तल्लो तहमा दर्जा थपेर मनोबल बढाउनेदेखि शान्ति मिसनमा सहभागीको बाटो खोल्ने विषयसम्म छलफलमा छन्’, खाँणले भने ।
उनले सीमित स्रोत, साधनका बीच प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरिरहेको बताउँदै धन्यवादसमेत दिए । मन्त्री खाँणले काभ्रेको पनौतीमा प्रहरीका लागि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र बनिरहेको बताउँदै तीन वर्षभित्र नेपालमै सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय तहको तालिम प्राप्त गर्न सक्ने बताए ।
संसारभरि नै प्रविधिमा नयाँ आयाम थपिएकाले यसबाट प्रहरीलाई पनि चुनौती बढेको खाँणले औंल्याए । ‘बढ्दो चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाएर अन्तर्राष्ट्रिय स्तरको तालिम र सीपले अब्बल बनाइनेछ’, उनले भने ।
प्रहरीले कोभिड–१९ भाइरसको रोकथाम र प्रतिकार्यमा गरेको कामप्रति पनि मन्त्री खाँणले धन्यवाद व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !