काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्सेनि अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन्।
सोमबार ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा नै बर्सेनि अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन्।
उनले विश्वमा अहिले नयाँ किसिमका अपराधिक गतिविधिहरू हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी रहेकोमा जाेड दिए।
उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए।
नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको गृहमन्त्री खाँणकाे भनाइ छ।
उनले भने, ‘नेपाल प्रहरीको लागि पनौतीको प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य प्रारम्भ भएको छ। तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरी अधिकृत र जवानहरूलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउने र त्यसले क्षमता पनि अभिवृद्धि भएर जानेछ। अहिले संसारभर नै अपराधिक गतिविधिहरूमा नयाँ आयामहरू थपिएका छन्।
नयाँ विज्ञान र प्रविधिको प्रयोगका साथै अपराधिक गतिविधि पनि बढिरहेको अवस्था छ। यसले सुरक्षामा चुनौती थपिएका छन्। नेपाल प्रहरीले पनि विज्ञान प्रविधिलाई अपराध नियन्त्रणमा प्रयोग गर्दै आएको छ। नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने, उहाँहरूको कार्यलाई प्रोत्साहित गर्न नेपाल सरकार प्रतिवद्ध छ। नेपाल प्रहरीका अधिकृत र जवानहरूको सुविधा वृद्धि गर्ने, उहाँहरूको जीवनयापन र उहाँहरूको परिवारका लागि जीवनयापनमा सहजता होस् भनेर त्यसका लागि पनि सरकारले प्रयत्न गरिरहेको छ।’
गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदद्त पुगेको पनि बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !