काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् । सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए । उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यक्ता रहेको पनि उल्लेख गरे ।
‘सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसकेमात्रै कुनैपनि संगठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ । प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु,उनले भने, ‘नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु ।’
प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।
आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मुलभूत दायित्व इमन्दारिताकासाथ निर्वाह गर्नुपर्नेछ । ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु, उनले भने, सीमित श्रोत, साधन, कठिनाइका बीच भएका श्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु ।
स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !