विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा कटहरी–४ का ५२ वर्षीय दिलिप साहको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार दुर्गा मन्दिरमा लगाएको टेन्ट खोल्ने क्रममा साहलाई हाइटेन्सन लाइनबाट करेन्ट लागेको थियो ।
गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । करेन्ट लागेर छटपटाइरहेको देखेपछि साहलाई उद्धार गर्न गएका अर्का व्यक्ति पनि घाइते भएका छन् ।
करेन्ट लागेर सुनसरीको इनरुवा नगरपालिका–७ का ४५ वर्षीय फागु सरदार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रंगेलीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गरेका सरदारले करेन्ट लागेर साह छटपटाइरहेको देखेपछि उद्दार गर्न पुगेका थिए ।
मोटरसाइकल रोकेर साहलाई उद्धार गर्न पुगेका सरदारलाई पनि करेन्ट लागेको डीएसपी कार्कीले बताए । उनको चिन्ताजनक अवस्था कोसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !