काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेद्वारको उम्मेद्वारी खारेज गर्ने निर्णय सच्चाउन माग गर्दै गठबन्धनले ज्ञापन पत्र बुझाएको छ ।

बुधबार सत्ता गठबन्धनका दलहरुले उक्त क्षेत्रका निर्वाचन अधिकृतलाई निर्णय ज्ञापन पत्र बुझाएका हुन् । गठबन्धनका दलहरुले उम्मेद्वारी खारेज गर्ने निर्णय सच्चाएर नयाँ निर्वाचनका कार्यतालिका ल्याउनु पर्ने माग राखेका छन् ।
यसअघि आयोगले रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज गरेको थियो ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।
