काठमाडौं । आसन्न निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन् । दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति भएको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ । एमालेले भने ३५ सिट लिने सहमति भएको छ ।
प्रदेशसभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ । जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो । जसपाले सत्ता गठबन्धनसँग आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो । सत्ता गठबन्धनले दिने सिटले नपुग्ने भन्दै जसले धेरै सिट दिन्छ, उतै जाने भन्दै आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !