काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व र नेपाल संवत ११४३ को अवसरमा सम्पूर्ण नेपाल प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना दिनुहुँदै स्वदेश तथा विदेशमा विभिन्न कार्यक्षेत्रमा परिचालित सम्पूर्ण नेपाल प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो ।
प्रहरी महानिरीक्षक सिंहले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर नेपाल प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका नेपाल प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
प्रहरी महानिरीक्षक सिंहले चाडपर्वको समयमा समेत २४ घन्टा नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद विपद्मा परेकाहरुको उद्धारमा थप जोश, जाँगर, हौसला र वफादारिताका साथ परिचालित हुन सकल दर्जाका नेपाल प्रहरी राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाँले सुरक्षा आफैमा जटिल, संवेदनशील र चुनौतीपूर्ण हुनेहुँदा सुरक्षासँग सरोकार राख्ने अन्य निकायसँग समन्वय गरी चाडपर्वका वेला सजकताकासाथ अझ बढी सक्रिय भई परिचालन हुनुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक सिंहले चाडपर्वको बेला स्वदेश तथा विदेशमा आवतजावत गर्ने नागरिकको सहयोग तथा सुरक्षका लागि देश भरिमा आवश्यकता अनुसार सहायता कक्ष स्थापना गरी देश र आम नागरिकको सेवा, सुरक्षमा निःस्वार्थभावले सेवा प्रदान गर्न कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !