काठमाडौं । सिजनल भिसामा दक्षिण कोरिया पठाउन खोज्ने १ जना पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको टोलीले कास्की पोखरा–१० घर भएका ५१ वर्षीय कृष्ण रोक्कालाई पक्राउ गरेको हो ।

आकर्षक तलब सुविधा हुने प्रलोभनमा पारी नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारको सिलसिलामा सिजनल भिसामा दक्षिण कोरिया पठाइदिने भन्दै उनले प्रति व्यक्ति २ लाखका दरले पैसा लिएका थिए । ललितपुरको ललितपुर महानगरपालिका–३ स्थित समिट होटल नजिकै रहेको सुबुरब क्याफेमा बसी पैसा लिइरहेको भन्ने सूचनाको आधारमा गएको विभाग र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
कृष्णले ठाकुर प्रसाद लामिछानेसहित ३१ जना पीडितहरूबाट प्रति व्यक्ति २ लाखका दरले पैसा लिएका थिए । पक्राउ परेका कृष्णले उनीहरूबाट असुलेको रकम फिर्ता गरेपछि धरौटीमा रिहा भएका छन् । रिहा भएका कृष्णका गतिविधि अझै शङ्कास्पद रहेकोले उनीमाथि निगरानी भइरहेको विभागका सूचना अधिकारी निर्देशक कृष्ण प्रसाद भुसालले बताए ।
‘पैसा लिइरहेको भन्ने सूचनाको आधारमा हाम्रो र प्रहरीको टोली खटिएको थियो । त्यहीबाट नियन्त्रणमा लियौँ । लिएको पैसा सबै फिर्ता गरे । त्यसपछि अहिले धरौटीमा छोडिएको छ । उनीमाथि निगरानी भने जारी छ,’ निर्देशक भुसालले भने ।
उनले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ विपरीतको कसुर गरेकाले उनलाई नियन्त्रणमा लिइएको निर्देशक भुसालको भनाई छ । सरकारले सिजनल भिसामा कोरिया पठाउन रोक लगाएको छ । केही समय अगाडिसम्म स्थानीय तह आफैँले भगिनी सम्बन्ध स्थापित गराउँदै आफ्नो पालिकाका युवालाई सिजनल भिसामा कोरिया पठाउँदै आएका थिए ।
उक्त क्रम बढेको भन्दै सरकारले हस्तक्षेप गर्दै तत्काल रोक्न भनेको थियो । सिजनल भिसाका लागि अनुमति मागेका कतिपय पालिकाको अनुमति नै रद्द गरिदिएको थियो । पालिकाले पठाउने कार्यमा रोक लागे पनि कतिपय दलालले व्यक्तिगत रूपमा सिजनल भिसामा भने कोरिया पठाउने क्रम रोकिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !