काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्मानित नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताए । उनले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरु कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पारे ।
उनले समाजवादले मात्रै समाजमा भएका वर्गिय शोषणलाई समाप्त गर्नसक्ने बताए । हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।
उनले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताए । उनले भने, ‘संविधान बनाउँदा कम सेकम पनि लैङ्गिक समानता यसलाई संविधानले स्वीकार गरेको छ । सिद्धान्ततः स्वीकार गरेको छ । तर अझै व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै माइल अघि बढ्नुपर्ने हुन्छ । धेरै लामो संघर्ष गर्नुपर्ने हुन्छ । हामीले हाम्रो देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरु कायम छन्, त्यो विभेदलाई अन्त्य गर्नको लागि अब हामीले समाजवादको बाटोमा हिँड्नु बाहेक हर्को कुनै विकल्प छैन ।’
उनले थपे, ‘समाजवादले मात्रै हाम्रो समाजमा भएका वर्गिय, शोषणलाई समाप्त हुन्छ । समाजवादमा मात्रै हाम्रो समाजमा मान्छेले मान्छेमाथि गर्ने शोषणलाई समाप्त गर्नसक्छ । विभेदलाई समाप्त गर्नसक्छ । आज जुन प्रकारका वर्गिय विभेदहरु छन्, लैङ्गिक विभेदहरु छन्, जातीय, भाषिक, सामाजिक विभेदहरु छन्, ती सम्पूर्ण विभेदहरुको अन्त्य गर्ने भनेको समाजवाद मात्रै हो, महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको छ, तर वास्तवमा जनसंख्याको हकले भन्ने हो भने ५१ प्रतिशत जनसंख्या महिलाहरुको छ, बराबरी गर्दा पनि ५० प्रतिशत अधिकार महिलाले पाउनुपर्ने हो । तर त्यो खालको अवस्था अझै समाजमा सिर्जना भइसकेको छैन । समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्छ ।’
सम्मानित नेता खनालले अहिले देशमा निर्वाचन आइरहेको भन्दै आफ्नो पार्टीले निर्वाचनमा बढी भन्दा बढी महिलाहरु सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । उनले अझै पनि पार्टी बलियो नभएका कारण समान रुपमा महिलाको सहभागिता गराउन नसकेको बताए ।
उनले कुनैपनि संगठन बनाउँदा महिलाहरुलाई प्राथमिकता दिने भन्दै हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने, प्रशिक्षित गर्ने र जागरुक बनाउने काममा पार्टी लाग्ने बताए ।
उनले भने, ‘हाम्रा सामु अहिले आम निर्वाचन आइरहेको छ, यस निर्वाचनमा बढी भन्दा बढी महिला दिदि बहिनीहरुलाई उम्मेदवार खडा गर्न चाहे प्रत्यक्षमा वा समानुपातिकमा खडा गर्न प्रयत्नशील छौँ । तरपनि पर्याप्त मात्रामा गर्न सकिएको छैन ।’
उनले थपे, ‘हामीले पार्टीलाई दरो नबनाइ, ठिक ढंगले गर्न सकिन्न । कुनैपनि संगठन बनाउँदा महिला दिदिबिहिनीलाई प्राथमिकता दिनेछौँ । हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने, प्रशिक्षित गर्ने र जागरुक बनाउने काममा हाम्रो पार्टी लाग्नेछ । आगामी निर्वाचनमा राष्ट्रव्यापीरुपमपा होमिनुपर्ने आवश्यक्ता छ ।’
उनले देशमा महिला मुक्ति अभियानलाई अघि बढाउनुपर्ने बताए । उनले आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) लाई देशको सबैभन्दा अगुवा, क्रान्तिकारी र सिंगो देशलाई रुपान्तरण र विकास गर्ने अठोटको रुपमा अघि बढ्न आवश्यक रहेको बताए ।
