काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताएकी छन् ।
बिहीबार नेपाल इन्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकम बीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धि लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन् । मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर बृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन् । उनले अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन् ।
मन्त्री भुसालले अहिलेसम्म भौतिक पूर्वाधार विकास अपभ्रममार्फत भइरहेको बताइन् । उनले सरकार, राजनीतिक दलहरुले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरु योजना बनाउनु आवश्यक रहेको बताइन् ।
उनले विकास विज्ञहरुसहित नेपालको नक्शा राखेर पूर्व पश्चिम द्रूत मार्ग, रेल मार्ग ,अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्नेकुराको हेक्का राखेर गुरु योजना बनाउनुपर्ने बताइन् । मन्त्री भुसालले त्यस्ता गुरु योजनामा बस्ती विकासलाई कसरी जोड्ने भन्ने विषयमा वृहत छलफल गर्नु आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘नेपालको भौतिक पूर्वाधारको विकास कसरी गर्ने, भौतिक पूर्वाधारको विकासलाई आर्थिक सामाजिक विकाससँग कसरी जोड्ने भन्ने कुराको कुनै मास्टर प्लान छैन । सरकारमा एउटा मन्त्री आयो आफ्नो निर्वाचन क्षेत्र र आफूलाई मनलागेका क्षेत्रमा विकास लगेको छ । अर्को मन्त्री आयो उसले बजेट कता लान सकिन्छ । यसरी अपभ्रममार्फत विकास भएको अवस्था छ ।’
उनले थपिन्, ‘अब सिङ्गो सरकार,राजनीतिक दलहरुले संविधानमा राष्ट्रिय सहमति गरेर लेखे जस्तै विकासको लागि राष्ट्रिय सहमति र समग्र विकासको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको मास्टर पलानमा बनाउनु आवश्यक छ । यसको लागि सबै किसिमका विज्ञहरुसहित नेपालको नक्शा राखेर पूर्व पश्चिममा कति वटा हाईवेय बनाउने, कति रेल मार्ग बनाउने र राज्यको स्रोतले कति धान्ने हो ।’
उनले फेरि भनिन्, ‘कति वटा ठूला अन्तराष्ट्रिय विमानस्थल बनाउने हो । त्यस्ता आयोजनामा बस्ती विकास कसरी जोड्ने विषयमा छलफल गर्नु आवश्यक छ । बस्तीको लागि विद्यालय,अस्पताल खोल्ने र खाने पानी पु¥याउने काममा असाधै खर्चिला भएका छन् । नेपालका विज्ञहरुले सक्नुभए स्वदेशी नभए विदेशी विज्ञ ल्याएर भए पनि मुलुकको विकासको लागि गुरु योजना बनाएर भौतिक विकास आवश्यक छ ।’
मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐन अनुसार ठूला विकास आयोजनाहरुमा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताइन् । मन्त्री भुसालले त्यस्तो काम नेपाली इन्जिनियरहरुले गर्न सक्नुपर्ने बताइन् । उनले विभिन्न सरकारी निकायमा वा सरकारी निकाय भन्दा बाहिर रहेका इन्जिनिएरहरुले आफैँ योजना बनाउने काम नगरेको भन्दै गुनासो गरिन् ।
उनले संघीयता लागू भएसँगै धेरै इन्जीनियरहरु प्रदेशमा गएको र ऊर्जा मन्त्रालयका विभिन्न विभागमा रहेकाहरुले राम्रो काम नगरेको बताइन् । मन्त्री भुसालले कुनै डिजाइन, गर्नुपर्दा कन्सल्टटेन्ट, कन्स्ट्रक्सन गर्न कन्ट्याक्टर, अनुगमन र निर्माण सम्पन्नताको प्रमाण दिने कन्सल्टटेन्टलाई दिनुपर्ने चित्त नबुझेको बताइन् ।
उनले धेरै खर्च गरेर अध्ययन गरेर इन्जिनियर बनेपनि आफैँले डिजाइन, योजना नबनाउने अवस्था रहेको बताइन् । मन्त्री भुसालले धेरै रकम खर्च गरेर प्राप्त गरेको इन्जिनियरिङ सम्बन्धि ज्ञानको प्रयोग नभएको बताइन् ।
मन्त्री भुसालले इन्जिनियरिङ स्टाप कलेज स्थापना तत्काल गर्नुपर्ने बताइन् । देश विकासको मुख्य जनशक्ति इन्जिनियर भएको बताइन् । मन्त्री भुसालले भौतिक विकास गर्दै आर्थिक सामाजिक विकाससँग जोड्ने विषय इन्जिनियर बिना सम्भव नभएको बताइन् ।
उनले देशको भौतिक तथा आर्थिक विकासलाई एकीकृत गर्नको लागि प्राविधिक विषयको विभिन्न महत्त्वपूर्ण विधामा काम गर्ने संस्था बीचको सहकार्यले महत्तवपूर्ण योगदान पुग्ने विश्वास रहेको बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !